समाचार

रास्कोट नगरपालिकामै नुन पाउँदा जनाता खुसी

१७ जेष्ठ २०८१, बिहीबार १६:१५
रास्कोट नगरपालिकामै नुन पाउँदा जनाता खुसी

२९ चैत,कालिकोट। रास्कोट नगरपालिकाले पालिकामै नुन दिन सुरु गरेको छ। पाँच पाकेट नुनका लागि दुई हजार पाँच सय रूपैयाँ खर्च गरेर सदरमुकाम मान्म जानुपर्ने बाध्यता अब हटेको रास्कोट नगरपालिकाले जनाएको छ।

रास्कोट नगरपालिकाले नगरको केन्द्र आरसपी बजारमा डिपो स्थापना गरेर नगरवासीलाई नुन वितरण गर्न थालेपछि वषौदेखिको नुनको पीडाबाट रास्कोटवासीले मुक्ति पाएका छन्।

नागरिकता र मालपोतसँग सम्बन्धित कामबाहेक अन्य सबै काम नगरपालिकामै हुन थालेपछि रास्कोटवासी सदरमुकाम मान्म जान छाडेका थिए। ‘नुनकै लागि ६ घण्टाको यात्रा गरी २ हजार खर्च गरेर सदरमुकामको डिपोसम्म पुग्नुपर्ने अवस्था थियो, यस्तो पीडाबाट मुक्ति मिलेको छ,’ रास्कोटका अनुरुद्ध सञ्ज्यालले भने, ‘बल्ल गाउँमा पनि सिंहदरबार आएको महसुस भएको छ, अहिले पैसा भएपछि सबै थोक गाउँमै पाइन थालेको छ।’

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा नगरपालिकामा पनि आयोडिनयुक्त नुन डिपो स्थापना गरेपछि अहिले यहाँका नागरिकले नुन पाउने गरेको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले बताए।

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले पालिकामै नुन दिन पालिकालाई निर्देशन दिएपछि पालिका केन्दमा नुन दिन सुरु गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमै नुन डिपोको स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्