समाचार

मधेसमा जनमतको नेतृत्वमा सरकार बनाउने तीन दलको सहमति

१७ जेष्ठ २०८१, बिहीबार १५:५८
मधेसमा जनमतको नेतृत्वमा सरकार बनाउने तीन दलको सहमति

१७ जेठ,काठमाडौँ। मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति भएको छ । मधेसको सबै भन्दा ठूलो दल नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।

बिहीबार काठमाडाैंमा बसेको बैठकले नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच यस्ताे सहमति गरेकाे हाे । जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बैठक बसेकाे थियाे । मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय भएको जनाइएको छ ।

सहमतिमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ । बिहीबार भएको सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीका प्रतिनिधिको हस्ताक्षर छैन ।

सरकारमा यी तीन दलसँगै एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ । १०७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्