समाचार

बूढानीलकण्ठ गएर माधव नेपालले ल्याएको तरंग

१७ जेष्ठ २०८१, बिहीबार १५:४६
बूढानीलकण्ठ गएर माधव नेपालले ल्याएको तरंग

१७ जेठ,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अहिलेको सत्ता गठबन्धनप्रति त्यति खुसी छैनन्।

पटक–पटक बार्गेनिङ गर्दै आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधवार विपक्षी मोर्चाको बैठकमा गएपछि सत्तापक्षमा तरंग आएको छ । नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जसपा नेपाल र लोसपाका शीर्ष नेतासँग छलफलमा जुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि मन्त्रीसम्मले अनेक सन्देह व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनले ‘भाउ’ नदिएपछि छटपटिएका नेपाल बुधबार बूढानीलकण्ठ पुगेपछि राजनीतिक समीकरण परिवर्तनको सन्देश दिन खोजेका हुन् कि भन्ने चर्चा भयो ।

कांग्रेस–माओवादी गठबन्धन हुँदा उनले राम्रै ‘स्पेस’ पाएका थिए । गठबन्धन फेरिएर एमाले–माओवादी गठबन्धन बनेपछि नेपाल ‘कर्नर’मा परेका छन् । नेपालको पार्टी समाजवादी सत्ता गठबन्धनकै एक घटक हो । ओली–प्रचण्ड मात्र हाबी भएको र आफू बेवास्तामा परेपछि उनको चित्त दुखेको छ ।

त्यसो त, उनले सार्वजनिक कार्यक्रमहरूमा नै आफूलाई शीर्ष नेताको बैठकमा आमन्त्रण नगरिएको पत्र–पत्रिका पढेर ‘अपडेट’ हुनुपरेको पीडा पोखेका थिए ।  पार्टीभित्र चाहिँ उनी ‘एक ठाउँमा अडिन नसकेको’ भन्दै आलोचना सुरु भएको छ ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सम्मिलित विपक्षी दलको बैठकमा नेपाल उपस्थित भएका थिए । उनी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए ।

त्यतिबेला ७ बुँदे सहमति गरेर एकीकृत समाजवादी सत्ता गठबन्धनमा गएको थियो। त्यसपछि पनि अध्यक्ष नेपालको अनुहारमा खुसी देखिँदैन।

‘परिस्थिति जटिल छ, गठबन्धन कहिले ओल्टो, कहिले कोल्टो भइरहेको छ, यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन,’ अध्यक्ष नेपालले असन्तुष्टि पोख्दै वैशाख १० गते भनेका थिए।

गठबन्धनको मुख्य घटक एमालेले एकीकृत समाजवादीको अस्तित्व नै अस्वीकार गरेको चित्त दुखाइ अध्यक्ष नेपालको छ। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन्। सुरूमा एमालेले सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिनै चाहेको थिएन। नागरिक उन्मुक्ति पार्टीलाई त्यहाँको नेतृत्व दिने चाहना एमालेको थियो।

प्रतिक्रिया दिनुहोस्