समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

११ जेष्ठ २०८१, शुक्रबार ००:५७
प्रतिनिधिसभाको बैठक बस्दै

११ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ । जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।  सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले संसदमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेस गरेर पारित गरिनेछ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेससहितका विपक्षी दलहरूले भने प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन् । सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेससहितका विपक्षी दलहरूले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन् । उनीहरूले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताउँदै आएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा र नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस गर्दा पनि कांग्रेससहितका दलहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । तर, सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीका बीच नियमित कार्यसूची अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्