समाचार

युवापुस्तालाई सपना र यथार्थबीच फरक संझाउने उपन्यास ‘ड्रिम लभर’ बजारमा

८ जेष्ठ २०८१, मंगलवार ०६:५७
युवापुस्तालाई सपना र यथार्थबीच फरक संझाउने उपन्यास ‘ड्रिम लभर’ बजारमा

काठमाडौं। किशोरावस्था र युवावस्था स्वभावतः उत्सुक, जिज्ञासु र कल्पनाशील हुन्छ । किशोरकिशोरी र युवायुवती नयाँ नयाँ सपना देख्छन्, अनौठा अनौठा कल्पना गर्छन् ।

उनीहरूमा जोश, जाँगर र उर्जा यति हुन्छ कि कतिपय त आफूले देखेका र सोचेका जुनसुकै सपना वा कल्पना यथार्थमै परिणत गराइछाड्ने जिद्दी गरिरहेका हुन्छन् ।

सपना र विपनाबीच तालमेल मिलाउन नसक्दा कैयन् किशोरकिशोरी ठूलो समस्यामा फस्न पुगेको पाइन्छ । प्रेम के हो भन्ने पत्तै नपाई उनीहरू जोसुकैसँग सजिलै प्रेममा पर्न सक्छन् । त्यही प्रेम पछि गएर मानसिक, सामाजिक वा कानूनी पासोमा परिणत हुनसक्छ भन्ने उनीहरूलाई हेक्कै हुँदैन ।

यही वस्तुतथ्यलाई उपन्यासका माध्यमबाट आम युवायुवती र किशोरकिशोरीलाई संझाउने कृति ‘ड्रिम लभर’ बजारमा आएको छ । साहित्यकार ध्रुव खनालको ‘ड्रिम लभर’ एउटा यस्तो उपन्यास हो जसले युवा पाठकलाई सपना र कल्पनाको उडान भर्दाभर्दै पनि यथार्थबाट विमुख नहुन सचेत तुल्याउँछ ।

यो एउटा स्वैर–काल्पनिक कथा मात्र नभई किशोरकिशोरी र युवायुवतीका लागि प्रेमको रुमानी कल्पना र जीवनका यथार्थ बीचको फरक बुझाउने रोचक कृतिसमेत हो ।

कविता, गीत र निबन्धसहित विभिन्न विधामा यसअघि नै करिब एक दर्जन कृति प्रकाशन गरिसकेका साहित्यकार खनालको यो पहिलो औपन्यासिक यात्रा हो । इटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको १०४ पृष्ठको यस उपन्यासको मूल्य २ सय रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्