समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

७ जेष्ठ २०८१, सोमबार ०१:४५
प्रतिनिधि सभाको बैठक बस्दै

७ जेठ, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

यस्तै प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने पनि आजको बैठकको कार्यसूची रहेको छ।

सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ ।

सङ्घीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट सुरु भएको हो । संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्