राजनीति

चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड

७ जेष्ठ २०८१, सोमबार ०१:३२
चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिदै छन् ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । उपेन्द्र यादव नेतृत्वको दल विभाजनसम्बन्धी निर्णय कानुनी विवादमा परेकाले अशोक राई नेतृत्वको जसपाका सांसदले मत दिन पाउने कि नपाउने भन्ने बहस पनि राजनीतिक वृत्तमा छ । यादवले आइतबारै जसपा नेपालबाट अलग भएका ७ सांसदलाई विश्वासको मतदान प्रक्रियाबाट रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटमाथि सोमबार नै प्रारम्भिक सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

संघी ससद्को चौँथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट सुरू भएको हो। संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्