राजनीति

संसदीय छानबिन समितिको टीओआरमा एमाले र कांग्रेसका आआफ्नै अडान

६ जेष्ठ २०८१, आईतवार ०८:४६
संसदीय छानबिन समितिको टीओआरमा एमाले र कांग्रेसका आआफ्नै अडान

६ जेठ, काठमाडौं । सत्ता पक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठकमा सहमति जुटेको छैन।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठकमा दलहरु  सैद्धान्तिक सहमतिको नजिक पुगेपनि टीओआर टुंग्याउन बाँकी रहेको हो।

कार्यदलका सदस्य महेशकुमार बर्तौलाले भने, “सहमतिको नजिक पुग्यौँ । बैठक टुङ्गिएको छैन । केही समयमा फेरि बैठक बस्नेछौँ । कांग्रेसले २० मिनेटको लागि समय माग्यो । सहमतिको टाढा पनि छैनौँ, एकाध विषयमा कांग्रेसका आफ्ना भनाइहरू छन् । सहकारी ठगीको विषय टुङ्गियोस् भनेर सबैले भनेका छौँ । बुँदागत रूपमा टुङ्ग्याउनका लागि समय लाग्छ । सम्भवत: एकाध घण्टापछि बस्ने बैठकले टुङ्ग्याउँछ ।”

कार्यदलको बैठकपछि कांग्रेसको आन्तरिक बैठक बस्दै छ । सभापति शेर बहादुर देउवासँग छलफल गरेर कांग्रेस महामन्त्री गगन थापा संसदीय दलको कार्यालय पुगेका छन् । प्रमुख सचेतक रमेश लेखक पनि कार्यालय पुगेका छन् । टीओआर तय गर्न बनेको कार्यदलको बैठकमा सहभागी सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्र कार्कीलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्