राजनीति

प्रतिनिधिसभा बैठक २ बजेलाई सारियो

६ जेष्ठ २०८१, आईतवार ०७:३२
प्रतिनिधिसभा बैठक २ बजेलाई सारियो

६ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ ।

बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेताहरुमा शनिबार सहमति भएअनुसार आज कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले बैठकको समय सारिएको सभामुखको सचिवालयका सदस्यहरुको भनाइ छ । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । आज बिहानदेखि कार्यदलले टिओआर विषयमा गृहकार्य गरिरहेको बताइएको छ ।

“सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” महासचिवद्वारा जारी सूचनामा भनिएको छ ।

यसैविच आज दिउँसो १ः१५ का लागि बोलाइएको राष्ट्रिय सभा बैठक पनि दुई घण्टा ढिलो सारिएको छ । महासचिव पाण्डेयले जारी गर्नुभएको सूचनामा आजै दिउँसो ३ः१५ का लागि सभा बैठक सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्