राजनीति

कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए

६ जेष्ठ २०८१, आईतवार ०६:४१
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए

६ जेठ, काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन बसेको कार्यदलको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र कार्की पनि सहभागी भएका छन् ।

समितिको कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा जारी बैठक  सुरु भएको केही समयपछि कांग्रेस नेता कार्की पनि पुगेका हुन् । विपक्षी मोर्चाको बैठकलगत्तै लेखक र कार्की सिंहदरबार पुगेका थिए । विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको छ ।

तर, जवाफ चित्तबुझ्दो नभए र टीओआर अध्ययन गरेर मात्र बाँकी कामकारबाही अघि बढ्न दिने लेखकले जानकारी दिएका छन् । छानबिन समिति गठनका लागि सत्ता पक्ष सहमत भए पनि क्षेत्राधिकारको विषय पेचिलो बनेको छ ।

सत्तापक्ष र प्रतपक्षका शीर्ष नेताहरू सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान  गर्न  संसदीय छानबिन समिति बनाउन शनिबार सहमत भएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि संसदमा अवरोध गर्दै आएको थियो।

कानुनमन्त्री  पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा नेकपा एमालेका महेश बर्तौाला,कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्