समाचार

माओवादी महाधिवेशनः शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु

१५ पुष २०७८, बिहीबार १४:००
माओवादी महाधिवेशनः शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु

१५ पुस, काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफल सकिएको छ ।

दाहालको राजनीतिक दस्तावेज र देव गुरुङले विधान संशोधन मस्यौदामाथि २४ समूहमा भएका छलफलको निष्कर्ष बुधबार दिउँसो सुरु गरेर बिहीबार साँझ बन्दसत्रमा राख्ने क्रम सकिएको हो ।

साथै, स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि पनि छलफल सकिएको छ । बिहीबार छलफलमा भएका निष्कर्ष राख्ने क्रम पनि सकिएको छ ।

 जसमा बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’ बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिम्खडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाई, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बरालमगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९, लुम्बीनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश नम्बर २ बाट भवानी थापाले दाहालको दस्तावेज र गुरुङको विधान संशोधन मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

योसँगै माओवादी केन्द्रको बन्दसत्र शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार आफ्नो दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दाहालले दिँदै छन् ।  त्यसपछि केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया अगाडि बढ्ने माओवादी केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्