समाचार

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

६ बैशाख २०८१, बिहीबार ०१:२४
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

६ वैशाख, काठमाडौँ। सरकारले वैशाख ६ र ७ गते (  आज र भोली) बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिसकेका छन्। पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाइ खोप पनि लगाइने बताएका छन्।

भिटामिन ए ले बच्चालाई कमजोरी हुनबाट बचाउँछ। लुलो लंगडो हुन रोक्छ। अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ। रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्छ।

त्यसैले आफ्ना बालबालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बन्न सरोकारवाला निकायहरुले आग्रह गरेका छन्।

भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य संस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा वर्षको दुईपटक कार्तिक र वैशाख महिनामा बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुवाइन्छ। भिटामिन एले शरीरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ।

बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ। यो आमाको बिगौती दुध, सिंगाे माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्