समाचार

रुसमा कामदार पठाउन श्रम स्वीकृति खुला

१६ चैत्र २०८०, शुक्रबार ००:५०
रुसमा कामदार पठाउन श्रम स्वीकृति खुला

१६ चैत, काठमाडौँ। सरकारले रूसमा कामदार पठाउन श्रम स्वीकृति खुला गरेको छ ।

गत फागुन १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले श्रम स्वीकृति खुला गर्ने निर्णय गरेका हुन् ।

युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको छ ।

‘श्रम स्वीकृति रोकिएका कारण रसियामा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएका श्रमिकको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेनपावर व्यवसायीबाट रूसको सिनोपेक इन्जिनीयरिङ रसिया ग्रूप (एलएलसी) कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । यसअघि नेपालीहरु रुस पुगेर सेनामा भर्ती भई युद्धमा सहभागी हुन थालेपछि श्रम स्वीकृति बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्