शिक्षा

उत्तरपुस्तिका हराएको बारे उच्चस्तरीय छानबिन समिति

१६ चैत्र २०८०, शुक्रबार ००:३८
उत्तरपुस्तिका हराएको बारे उच्चस्तरीय छानबिन समिति

१६ चैत, काठमाडौँ। उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

 महाशाखाले जारी गरेको विज्ञप्तिमा समितिले उत्तरपुस्तिका के-कसरी हराएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

प्रतिवेदन प्राप्त भएपछि कार्यकारी परिषद्ले उत्तरपुस्तिका हराएको विषयमा आवश्यक निर्णय लिने जनाइएको छ । कार्यकारी परिषद् त्रिविका उपकुलपति अध्यक्ष र रेक्टर, रजिष्ट्रार रहने कार्यकारी समिति हो ।

गत वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नम्बर ४२२) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नम्बर ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो । नतिजा सार्वजनिक गर्ने बेला उत्तरपुस्तिका नभेटिएपछि परीक्षा समितिले छुट्टै छानबिन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाइसकेको भए पनि कार्यकारी परिषद्ले पुनः उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

‘उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८० चैत १५ गतेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरिएको छ । उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा अुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्