राजनीति

एमालेद्वारा नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै

२९ फाल्गुन २०८०, मंगलवार ०१:५१
एमालेद्वारा नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै

२९ फागुन, उदयपुर। नेकपा एमाले उदयपुरले मिसन–८४ लाई लक्षित गरी नेता कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गरेको छ।

पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गीय संगठन, जनप्रतिनिधि र पार्टीबीचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको बहुदलीय जनवाद लगायतका विषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षित गराउन सुरु गरेको हो।

पार्टी संगठन मजवुद बनाउउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठ वटै स्थानीय तहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए । उनले भने, ‘पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अव्वल संगठन, विकासमा नेतृत्वदायी भूमिका बनाउने पार्टीको लक्ष्य अनुरुप प्रशिक्षण सुरु गरेका हौ ।’

प्रशिक्षणमा विषयवस्तुको जानकारीसँगै मिसन ८४ लाई लक्षित गरी पार्टी भित्रका आन्तरिक द्वन्द्व व्यवस्थापन, विकास निर्माणका विषयमा छलफल, जनप्रतिनिधि र कार्यकर्ताबीचका सम्बन्धमा सुमधुरता कायम गर्नसमेत समन्वयात्मक भूमिका निर्वाह गरिएको अध्यक्ष घिमिरेले बताए। उनका अनुसार हालसम्म बेलका, चौदण्डिगढी, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिकामा प्रशिक्षण सकिएको र बाँकी पालिकामा जिल्ला अधिवेशन अगाडि नै सक्ने गरी तयारी गरिएको बताए।

प्रशिक्षण कार्यक्रमअन्तर्गत सोमबार रौतामाई गाउँपालिका कमिटीले वडा नम्बर ६ रौतामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पालिका कमिटीका अध्यक्ष केशव राईले बताए। कार्यक्रममा पार्टीका सम्बन्धित भूगोलका जिल्ला कमिटी, गाउँपालिका कमिटी, जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला, पालिका कमिटीका नेताहरूको उपस्थिति रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्