समाचार

१२ बर्षपछि अर्थ मन्त्रालय फर्किएका बर्षमान

२४ फाल्गुन २०८०, बिहीबार १४:३३
१२ बर्षपछि अर्थ मन्त्रालय फर्किएका बर्षमान

२४ फागुन, काठमाडौँ। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले करिब १२ वर्षपछि दोस्रो इनिङ्सका रूपमा अर्थतन्त्रको बागडोर सम्हालेका छन् ।

उनले बुधबार (२३ फागुन)देखि पदभार सम्हालिसकेका छन् । अर्थतन्त्र चरम आर्थिक मन्दीमा रहेकाले पूर्वाधार निर्माणका काम ठप्प जस्तै छ । राष्ट्रिय पुँजी निर्माणमा ८० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र त्रसित रहँदा नयाँ लगानीको हिम्मत जुट्न सकेको छैन ।

चौथोपटक मन्त्री बनेका पुन अर्थमन्त्री भने दोस्रोपटक बनेका हुन् । यसअघि उनले ०६८ साल भदौदेखि ०६९ साल चैतसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अहिले अर्थतन्त्र चरम आर्थिक मन्दीमा रहेको अर्थविज्ञहरूले बताउँदै आएका छन् । राजस्व संकलन, पुँजीगत खर्च, वैदेशिक सहायता तथा अनुदानलगायतको अवस्था नाजुक छ ।

अर्थतन्त्रका समस्या समाधानको नेतृत्व गर्दै नागरिकको जीवनस्तरमा सुधार र मुलुकको विकासको गतिलाई अघि बढाउने दायित्व अर्थमन्त्री माथि हुन्छ । पुनले यी सबै कामको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।
बुधबार साँझ अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले चुनौती स्वीकार गरेर अघि बढ्ने पनि बताएका छन् ।

उनले आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि सरकारले लिएको नीतिमा सघाउ पुग्ने गरी अर्थ व्यवस्थालाई अघि बढाउने उनको भनाइ छ ।

“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्