समाचार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२३ फाल्गुन २०८०, बुधबार ०६:५६
कांग्रेसले बोलायो संसदीय दलको बैठक

२३ फागुन, काठमाडौँ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले आगामी रणनीति बनाउन बैठक बोलाएको हो । संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाएका हुन् ।

सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन बैठकबाट गरेको छ ।

उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीति तय हुने छ ।  संघीय संसद्को दुवै सदनको बैठक भोलि अर्थात् फागुन २४ गतेका लागि बोलाइएको छ । यसअघि २१ फागुनलाई बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्