समाचार

कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट

२३ फाल्गुन २०८०, बुधबार ०६:४९
कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट

२३ फागुन, काठमाडौँ। नेपाली कांग्रेसका नेता रमेश लेखकले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएका छन्।

अध्यक्ष नेपाललाई भेट्न देउवा उनकै निवास कोटेश्वर पुगेका छन् । देउवासँगै उनकी पत्नी आरजु र नेता रमेश लेखक पनि सहभागी थिए । अध्यक्ष नेपाल रुघाखोकीको बिरामी भएपछि केही दिनदेखि आराम गर्दै छन्। आजको भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे दुई नेताबीच कुराकानी भएको थियो । नयाँ गठबन्धनमा नेता नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई समेट्न एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय छन् ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनु स्वभाविक भएको लेखकले बताए । गठबन्धन टुट्नुको आधिकारीक धारणा पार्टीको कार्यसम्पादन समितिको बैठकबाट दिइसकेको उनले बताए ।

‘परिवर्तित र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको हो,’ उनले भने, ‘सकारात्मक छलफल र कुराकानी भएको छ। छलफललाई हामी निरन्तरता दिन्छौं।’

राजनीति परिवर्तन भएपछि नयाँ विकसित राजनीतिक घटनाक्रम भएपछि छलफल हुनु स्वभाविक भन्दै उनले समानान्तर गठबन्धनका लागि सबै राजनीतिक दलसँग छलफल भइराखेको बताए। ‘नयाँ विकसित राजनीतिक घटनाक्रम भएपछि छलफल हुने नै भयो,’ उनले थपे, ‘सबै राजनीतिक दलसँग छलफल भइराख्या छ।’

प्रतिक्रिया दिनुहोस्