समाचार

सत्ता गठबन्धन एकीकृत समाजवादीको निर्णय कुर्दै

२३ फाल्गुन २०८०, बुधबार ०६:३५
सत्ता गठबन्धन एकीकृत समाजवादीको निर्णय कुर्दै

२३ फागुन, काठमाडौँ। सत्ता गठबन्धनका नेताहरू मन्त्रालयको भागबन्डा टुङ्ग्याउन एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ। दुई दिनअघि एमाले, माओवादी केन्द्रसहितका चार दल मिलेर बनाएको नयाँ गठबन्धनमा एकीकृत समाजवादी समेटिएको छैन।

मंगलबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितका नेताले कोटेश्वरस्थित निवासमै पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए।

यस विषयमा पार्टीमा निर्णय गरेर जवाफ दिने नेपालले बताएका थिए । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सरकारमा आउने दलहरू निश्चित भएपछि सिट बाँडफाँट टुङ्गो लगाउने गरी बैठक स्थगित गरेको थियो ।

सरकारमा जाने/नजानेबारे विषयमा टुङ्गो लगाउन एकीकृत समाजवादीले सचिवलय बैठक बोलाएको छ । यसै विषयमा छलफल गर्न कार्यदलका सदस्यहरू फेरि बालुवाटारमा जुटेका छन् । अहिलेसम्म कुन दलले कति मन्त्री पाउने भन्ने विषयमा टुङ्गो नलागिसकेको कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्