२१ फागुन, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अन्तिमसम्म बोकेपछि सत्ता गठबन्धन ढलेको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री महतसँग गत मंसिरदेखि नै असन्तुष्ट थिए । उनले मंसिरदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताउँदै आएका थिए ।
प्रधानमन्त्रीको चासो भएका कुनै पनि फाइल अगाडि नबढाउने, समानान्तर सत्ताको अभ्यास गर्ने काम अर्थमन्त्रीबाट हुन थालेपछि प्रचण्डले देउवासमक्ष पटक-पटक गुनासो गरेका थिए । तर, देउवा महतलाई हटाउन तयार नभएपछि प्रचण्डले एमाले अध्यक्षसँग सघन छलफल अघि बढाएको स्रोतको दाबी छ ।
‘प्रधानमन्त्रीले अह्राएको काम नगर्ने, आफूखुसी गर्दै हिँड्ने र समानान्तर सत्ता चलाउन खोज्ने प्रवृत्ति अर्थमन्त्रीमा देखिएको थियो। त्यतिबेला कांग्रेस सभापति देउवाले नै राष्ट्रिय सभाको निर्वाचनसम्म मन्त्रिमण्डल हेरफेर नगर्न भन्दै आएका थिए । त्यसपछि फेरि देउवाले कांग्रेस महासमिति बैठकसम्म कुर्न आग्रह गरेका थिए ।
एकातिर कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड राम्रो नहुनु र अर्कातिर प्रचण्डसँगै अर्थमन्त्रीको राम्रो सम्बन्ध नहुनाका कारणले पनि प्रचण्ड चिँढिदै आएका थिए ।
कांग्रेस महासमिति सकिएपछि पनि देउवाले अर्थमन्त्री महतलाई लगानी सम्मेलनसम्म काम गर्न दिन प्रचण्डसँग आग्रह गरेपछि प्रचण्ड देउवासँग निकै नै रिसाएका थिए । एकातिर नेपालको अर्थतन्त्र ओरालो लागिरहँदा पनि केही पनि भएको छैन सबै ठीक छ भनेर हिँड्ने महतको व्यवहार सकैलाई मन परेको थिएन ।