समाचार

राष्ट्रियसभाका २० सदस्यको पदावधि सकिँदै, आज विदाइ कार्यक्रम

२० फाल्गुन २०८०, आईतवार ०३:१३
राष्ट्रियसभाका २० सदस्यको पदावधि सकिँदै, आज विदाइ कार्यक्रम

२० फागुन, काठमाडौँ। राष्ट्रियसभाका अध्यक्षसहित भोलि आइतबारदेखि २० सांसदको पदावधि समाप्त हुँदैछ ।  २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन लागेका हुन् ।

२०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेल समेत गरी २० सांसद बिदा हुन लागेका हुन् ।

६ वर्ष कार्यकाल बिताएका उनीहरू आजैदेखि बिदा हुने र सोमबार नयाँ १९ सांसदहरुले शपथ लिनेछन् भने थप एक जना राष्ट्रपति रामचन्द्र पौडेलले मनोनीत गर्नुहुनेछ।

आइतबार बिदाइ हुनेहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, पार्वती कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदै छन् ।

त्यस्तै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन्।

यता नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।

पछिल्लो निर्वाचनको परिणाम अनुसार राष्ट्रिय सभामा माओवादी पहिलो ठूलो दल बनेको छ भने कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा पुगेको छ । एमाले भने खुम्चिएर तेस्रो स्थानमा पुगेको छ । यसैबीच राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ६ वर्ष कार्यकाल पुरा गरेका सदस्यको आज विदाइ कार्यक्रम गर्दै छ । समितिको बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्