अर्थ / वाणिज्य

नेपालमा विकास अभियानले गति लिन सुरु गरिसक्यो : अर्थमन्त्री महत

२० फाल्गुन २०८०, आईतवार ०२:५१
नेपालमा विकास अभियानले गति लिन सुरु गरिसक्यो : अर्थमन्त्री महत

२० फागुन, काठमाडौँ। नेपालमा विकासको अभियानले गति लिन थालेको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन्।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन्।

उनले भने, ‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ। यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ। नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं।’

‘अब अर्थतन्त्र ठिक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री डा.महतले भने, ‘आत्मविश्वास जगाऔँ, विचार पुर्‍याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ ।

अर्थमन्त्री डा.महतले भने, ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन। सिप छ, पढाई लेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न सकिन्छ । त्यस कारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरूसँग अनुरोध गर्छु ।’

‘आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोसिस गरिने छ। असारमा हुने विश्व बैंकको ठुलो सम्मेलन पनि नेपालमा नै आयोजना गर्न लागेका छौ’ उनले भने “देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बिचमा पुर्‍याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्