खेलकुद

उपाधिका लागि आयोजक र आर्मी भिड्ने

१८ फाल्गुन २०८०, शुक्रबार ०३:५२
उपाधिका लागि आयोजक र आर्मी भिड्ने

१८ फागुन, पाँचथर। पाँचथर सदरमुकाम फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक पाँचथर क्लब र विभागीय टोली त्रिभुवन आर्मीबीच भिडन्त हुने भएको छ।

फिदिम माविको मैदानमा बिहीबार भएको सेमिफाइनमा झापा–११ लाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलको ४३औं मिनेटमा आर्मीका दीपकुमार लामाले सुरुवाती गोल गरेका थिए। आर्मीको यो अग्रता धेरै समय टिकेन। ५९औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। आर्मीका खेलाडीले फल खेलेपछि झापाले पेनाल्टी पाएको थियो। जसलाई प्रदीपले सदुपयोग गरेका थिए। टाइब्रेकरमा आर्मीका दीपकुमार लामा, मनबहादुर आलेमगर, सन्तोष केसीले गोल गरे। झापाका कप्तान पेमा तामाङ, रोजिन माझी र विशाल तामाङको प्रहार विफल भएको थियो।

बिहीबारको खेलमा आर्मीका दीपकुमार लामा प्लेयर अफ दी म्याच घोषित भए। उनलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पाँच हजार नगद पुरस्कार प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्