समाचार

डा रुइत आँखाका बिरामीको शल्यक्रिया गर्दै

१७ फाल्गुन २०८०, बिहीबार ०७:१२
डा रुइत आँखाका बिरामीको शल्यक्रिया गर्दै

१७ फागुन,फुङ्लिङ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बिहीबारदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गरेका छन् ।

उनले ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए । नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो ।

शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा. रुइत गृहजिल्ला आएको सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए ।

बिहीबारदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । डा. रुइतले शल्यक्रिया गर्ने भएपछि नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको सङ्घका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्