समाचार

एमाले सांसदको अवरोधपछि संसद् बैठक स्थगित (फोटोफिचर)

१४ फाल्गुन २०८०, सोमबार ०६:४८
एमाले सांसदको अवरोधपछि संसद् बैठक स्थगित (फोटोफिचर)

१४ फागुन, काठमाडौं। सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका छन् । बैठक सुरु भएलगत्तै उभिएर उनीहरूले नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठकको सुरुमै एमाले लगायत प्रतिपक्षी दलका सांसदहरू मन्त्रीहरूको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद् गोकुल बास्कोटालाई बोल्न समय दिएका थिए।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलेका थिए।उनीहरू दुग्ध किसानलाई भुक्तानी दिनुपर्ने, विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले हटाउनुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने र लघुवित्त पीडितहरूको माग सुनुवाइ हुनुपर्ने विषय सदनमा उठाएका थिए।

सभामुख घिमिरेले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। उनीहरूले नाराबाजी पनि गरेका थिए। भ्रष्ट मन्त्रीहरूलाई कारबाही गर, दुग्ध किसानहरूलाई भुक्तानी दे, संसदीय मर्यादा कायम गर जस्ता नाराबाजी उनीहरूले गरेका थिए।

सभामुखले भने कार्यसूचीमा बैठकलाई सञ्चालन गर्न सहयोग गर्न अनुरोध गरेका थिए। ‘यो बैठकलाई कार्यसूची अनुसार अगाडि लैजानु धेरै हिसाबले महत्त्वपूर्ण छ। यसलाई अगाडि लैजान सहयोग गर्न अनुरोध गर्दछु’, उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्