१३ फागुन, काठमाडौँ। प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ ।
त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी गरेको छ ।
                            
                            
प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन मिति आइतबार तोकिन लागेको हो।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो।
सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ। आयोग निकट स्रोतका अनुसार वैशाख तेस्रो साता निर्वाचन गर्नेगरी आयोगले मिति तोक्ने तयारी अघि बढाएको छ।
स्थानीय तहको उपनिर्वाचनको मिति भने आयोगको परामर्शमा सरकारले तोक्ने छ।