समाचार

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

१० फाल्गुन २०८०, बिहीबार ०८:२९
बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

१० फागुन,काठमाडौँ। सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन फेरि रुलिङ गरेका छन् ।

आजको बैठकमा प्रतिपक्षी दलहरू नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बालकुमारी घटनाबारे सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराएका हुन्।

प्रतिपक्षी दलका सांसदहरूले बालकुमारी घटना सम्बन्धमा छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनबारे सरकारको जवाफ माग गर्दै उभिएर विरोध जनाएका थिए।

एमाले सांसद रघुजी पन्तले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरे।

त्यस्तै, रास्वपा सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटना सामान्य नभएको भन्दै दोषी देखिएका मन्त्रीलाई कारबाही गर्न माग गरे। राप्रपाका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि सोही विषय उठाएका थिए।

गत १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी बालकुमारी घटना भएको थियो । उक्त घटनाबारे छानबिन गर्न गठित समितिले मन्त्री ज्वालासहितलाई दोषी देखाउँदै तयार पारेको प्रतिवेदन गृहमन्त्री र प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, मन्त्री ज्वालाले राजीनामा नदिएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बर्खास्त नगरेपछि प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्