समाचार

प्रतिनिधिसभा बैठक अवरुद्ध

१० फाल्गुन २०८०, बिहीबार ०५:५५
प्रतिनिधिसभा बैठक अवरुद्ध

१० फागुन,काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो ।

यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।

बस्नेत भ्रष्टाचार प्रकरणमा मुछिएर अख्तियारमा बयान दिन गएको, किरातीले ल्यारक्याल लामाको गलत कार्यलाई सघाएको तथा ज्वाला बालकुमारी घटनाको मुख्य दोषी भएकाले उनीहरूलाई पदबाट हटाइनुपर्ने एमालेको माग छ ।

बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सांसद प्रेम सुवालले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्