समाचार

प्रदेश सरकार र पहिचानवादीबीच ३ बुँदे सहमति

९ फाल्गुन २०८०, बुधबार १५:४५
प्रदेश सरकार र पहिचानवादीबीच ३ बुँदे सहमति

९ फागुन, विराटनगर। कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिको दोस्रो वार्तामा तीन बुँदे सहमति भएको छ।

विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दुई पक्षको वार्ता टोलीले उक्त सहमति गरेको हो । दुई पक्षीय वार्तामा प्रदेशको पुन: नामांकनको प्रक्रिया अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन आगामी वार्तासम्ममा पहल गर्नेसहित तीन बुँदे सहमति भएको हो ।

वार्तापछि जारी संयुक्त सूचनामा सरकारको तर्फबाट यसअघि भएका आन्दोलनका क्रममा घाइते भएकाको प्रदेश सरकारले नि:शुल्क उपचार गर्ने, उनीहरुमाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सहमतिलाई कार्यान्वयनका लागि सरकार र आन्दोलनरत पक्षबाट दुई/दुई जनाको कार्यदल गठन गर्ने सहमति भएको उल्लेख छ ।

कार्यदलले आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च विवरण र पक्राउ परेर अदालतमा विचाराधीन मुद्दाको विवरण संकलन गर्ने कार्यादेश पाएको छ ।

यसअघिको वार्तामा दुई पक्षबिच ५ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्