समाचार

पूर्वराजा शाहले भने-जनता जनार्दनले जे भन्छन्, त्यो सुनौं

६ फाल्गुन २०८०, आईतवार १३:३९
पूर्वराजा शाहले भने-जनता जनार्दनले जे भन्छन्, त्यो सुनौं

६ फागुन, काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्।

पूर्वराजा शाहले ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रको पूजा कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही आचरणले मात्रै हुने बताएका हुन्।

‘राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौं। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं,’ सन्देशमा भनिएको छ। उनले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने भन्दै उनले आफ्नो श्रोत, साधन र सिप सबै समाहित हुनुपर्ने बताए।

‘यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ,’ शाहले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्