समाचार

काई बर्ड भन्छन्– ओपेनहाइमर नेपालजस्ता देशका निम्ति सापेक्ष छ

५ फाल्गुन २०८०, शनिबार १३:२५
काई बर्ड भन्छन्– ओपेनहाइमर नेपालजस्ता देशका निम्ति सापेक्ष छ

५ फागुन, पोखरा।  दुई शक्तिशाली राष्ट्रबीच रहेको विकासोन्मुख देश हो, नेपाल । भारत र चीन विश्व अर्थतन्त्रमा शक्तिशाली छन् । यही भू–बनावटमा बसेको नेपाललाई हेरेर काई बर्ड भन्छन्– ओपेनहाइमर नेपालजस्ता देशका निम्ति सान्दर्भिक छ ।

पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा सन् २०२३ को विश्व ब्लकबस्टर फिल्म ओपनहाइमरका सहलेखक ‘काई बर्ड’ वक्ताका रुपमा डाकिएका थिए । ‘बेस्टसेलरदेखि ब्लकबस्टर : द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्डले ओपनहाइमरको कथालाई नेपालसँग जोडेर व्याख्या गरे ।

बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमेथियस : द ट्राइम्फ एन्ड ट्र्याजेडी अफ जे रोबर्ट ओपेनहाइमर’ सैद्धान्तिक भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक हो ।

पत्रकार कुन्द दीक्षितले सहजीकरण गरेको उक्त सत्रमा बर्डको पुस्तकमा आधारित क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’का विभिन्न पक्षमा घुमेको थियो । पुलित्जर पुरस्कार विजेता बर्डले कुराकानीका क्रममा नेपाल जस्ता देशका लागि चलचित्र र पुस्तक दुवैको सान्दर्भिकताबारे प्रकाश पारे ।

‘नेपालमा तपाईका छिमेकी भारत, चीन र पाकिस्तानसँग साँच्चै खतरनाक आणविक हतियार छन्’, बर्ड भन्छन्, ‘अहिले उत्तर कोरिया, पाकिस्तान, भारत, इजरायल, फ्रान्स र इंग्ल्यान्डजस्ता देशहरूसँग खतरनाक हतियार छन् । हामी धेरै खतरनाक समयमा बाँचिरहेका छौं ।’

कुराकानीको क्रममा बर्डले आफू पत्रकारबाट जीवनीकारमा कसरी परिवर्तन भएँ भन्ने कुरा पनि सुनाए । संयोगवश पुस्तक लेख्न पुगेको बताउँदै जीवनी लेखनमा पुगेको उनले सुनाए ।

बर्डका अनुसार इतिहास सम्प्रेषण गर्ने सबैभन्दा शक्तिशाली साधन जीवनी हो । इतिहास देखाउने पुस्तकलाई चलचित्रमा ढालेकोमा बर्डले नोलानप्रति कृतज्ञता देखाए । ‘म क्रिस्टोफर नोलानलाई चलचित्र बनाएर यस्तो महत्त्वपूर्ण मुद्दामा ध्यानाकर्षण गराउनुभएकोमा आभारी छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्