समाचार

आज सरस्वती पुजा

२ फाल्गुन २०८०, बुधबार ०२:३३
आज सरस्वती पुजा

२ फागुन, काठमाडौँ। आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । यसको धार्मिक महत्व ठूलो रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ ।

यस दिन कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरिन्छ । देवी माताको पुजा गर्नाले बौद्धिकता बढ्छ र कलात्मक गुण बढ्छ भनिन्छ । यस वर्ष वसन्त पञ्चमी फागुन २ गते परेको छ ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो ।

यसै समयदेखि वसन्तराग गाउन थालियो । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । सरस्वतीपूजाको दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्। विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पूजा आराधना गर्ने गरिन्छ।

सरस्वती स्त्रोत्रम्

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।

प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।

नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।

कसरी गर्ने पूजा ?

बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुस् ।

पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस्। प्रसादमा पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस्।

प्रतिक्रिया दिनुहोस्