समाचार

पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको चुनावी नतिजाबारे जारी गरे वक्तव्य

२७ माघ २०८०, शनिबार ०३:१६
पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको चुनावी नतिजाबारे जारी गरे वक्तव्य

२६ माघ, काठमाडौं। पाकिस्तानमा बिहीवार भएको आम चुनावको मतगणना चलिरहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआई समर्थित उम्मेदवारले अग्रता लिएका छन् ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म २४३ सिटको परिणाम घोषणा हुँदा पीटीआई समर्थित उम्मेदवारहरूले ९८ सिटमा जीत हासिल गरेका छन् ।  पीटीआईमाथि प्रतिबन्ध लागेपछि नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरूलाई पार्टीको निर्वाचन चिह्न क्रिकेटको ब्याट प्रयोग गर्न पनि निर्वाचन आयोगले रोक लगाएको थियो।

इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो बयान दिइएको हो। पिटिआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो। यस सन्देशमा अदियाला जेलमा बन्दी इमरान खानले भनेका छन्, ‘भोट गरेर तपाईंले साँचो स्वतन्त्रताको जग बसाल्नु भयो। म तपाईंलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन्छु।’

उनले पूर्वप्रधानमन्त्री नवाज शरीफप्रति टिप्पणी गर्दै भनेका छन्, ‘तीस सिट पछाडि भएर पनि विजयी भाषण दिइयाे।’ निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन। पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

यस्तै पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ६९ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ५१ सिटमा जितेका छन् । अरु दलले १५ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।

हालसम्म घोषित नतिजामा पिटिआईले समर्थन गरेका ८४ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन) का ७० उम्मेदवार विजयी भएका छन्। पिपिपीले ५१ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३१ सिटमा जित हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्