समाचार

सोनाम ल्होसार पर्वमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

२७ माघ २०८०, शनिबार ०३:०१
सोनाम ल्होसार पर्वमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

२६ माघ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज परेको तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गरेका छन्।

आज पौडेल र यादवले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका हुन् ।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषको मात्र नभएर सिङ्गो राष्ट्रका साझा भएको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहेको उल्लेख छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको उनको भनाइ छ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको उल्लेख गरेको बताएका छन् ।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्