समाचार

विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती

२६ माघ २०८०, शुक्रबार १५:३४
विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती

२६ माघ, काठमाडौं। नयाँ विमानस्थल बनाउनभन्दा भएका पुराना चलाउन कठिन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्।

उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको आज (शुक्रबार) निरीक्षण गर्दै मन्त्री किराँतीले उक्त कुरा बताएका हुन् । मन्त्री किराँतीले सिमित स्रोत साधनको कारण विमानस्थल बनाउन निकै अप्ठ्यारो रहेको बताउँदै बनाउन भन्दा विमानस्थल सञ्चालन गर्न झन् समस्या रहेको बताएका छन् ।

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयलाई लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए ।

उनले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाइट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने धारणा राखे । उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ ।

१५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा रुख कटानबाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा यस वर्ष पाँच करोड विनियोजन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्