समाचार

परराष्ट्रमन्त्री साउद बुधबार अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने

२३ माघ २०८०, मंगलवार १५:४६
परराष्ट्रमन्त्री साउद बुधबार अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने

२३ माघ, काठमाडौंपरराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालये मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री साउदले अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने जनाएको हो । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले माघ २७ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पर्थमा परराष्ट्रमन्त्रीले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियाबाट परराष्ट्रमन्त्री साउद न्युजिल्यान्ड जानेछन् । फागुन २ गते उनले न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उनी फागुन ३ गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्