खेलकुद

रचिनको दोहोरो शतक

२२ माघ २०८०, सोमबार ०८:२२
रचिनको दोहोरो शतक

२२ माघ, डडेल्धुरा। युवा अलराउन्डर रचिन रविन्द्रले दोहोरो शतक हानेपछि घरेलु टोली न्युजिल्यान्डले पहिलो इनिङमा दक्षिण अफ्रिकाविरुद्ध विशाल योगफल बनाएको छ ।

पहिलो पालीमा न्युजिल्यान्डले तयार पारेको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली दक्षिण अफ्रिकाले केवल ८० रनमा चार विकेट गुमाइसकेको छ ।

दोस्रो दिन पहिलो इनिङमा न्युजिल्यान्ड ५११ रनमा अल आउट भयो । न्युजिल्यान्डका रचिन रविन्द्रले ३६६ बलमा २६ चौका र ३ छक्कासहित २४० रनको शानदार दोहोरो शतकीय इनिङ खेले । उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो दोहोरो शतक हो ।

कप्तान केन विलियम्सन २८९ बलमा १६ चौकासहित ११८ रनमा आउट भए । विलियम्सनको यो टेस्ट करिअरको ३० औं शतक हो । तेस्रो विकेटका लागि केन विलियम्सन र रचिन रविन्द्रले २३२ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका रचिनले पेभेलियन फर्किनुअघि दुई सय ४० रन बनाएका थिए । उनले तीन सय ६६ बलको सामना गरी तीन छक्का र २६ चौका पनि हिर्काएका थिए । २४ वर्षीय युवा खेलाडी रचिनले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रन थियो ।

ग्लेन फिलिप्स ३९, म्याट हेनरी २७, डर्याल मिचेल ३४, टम लाथम २० र डेभन कन्वे १ रनमा आउट भए । दक्षिण अफ्रिकाका कप्तान निल ब्रान्डले एक्लै ६ विकेट लिए ।

दोस्रो दिन पहिलो इनिङ थालेको दक्षिण अफ्रिका २८ ओभरमा ८०–४ को अवस्थामाछ । ४३१ रनले पछि रहेको दक्षिण अफ्रिका फलोअनमा पर्ने जोखिम उच्च छ ।

प्रतिक्रिया दिनुहोस्