समाचार

पहिलो पटक विश्वविद्यालय खेलकुदको शुरुवात

२२ माघ २०८०, सोमबार ०८:१३
पहिलो पटक विश्वविद्यालय खेलकुदको शुरुवात

२२ माघ, काठमाडौँ। विश्वविद्यालयमा पनि खेलकुदको विकास गर्ने र त्यहाँका प्रतिभालाई राष्ट्रिय स्तरसम्म प्रोत्साहित गर्ने उद्देश्यअनुरूप पहिलोपटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको शुरुवात हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहेको छ ।

विश्वविद्यालयमा पुगेपछि खेल प्रतिभा हराउने भएकाले उनीहरूको संरक्षण गर्ने र विश्वविद्यालयमा खेलकुदमय बनाउन नेपाली खेलकुदको कार्यकारी निकायले विश्वविद्यालय खेलकुद प्रतियोगिताको शुरुवात गर्न थालेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आईतवार त्रिपुरेवरस्थित राखेप भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता सोमवारदेखि शुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिष्पर्धा हुनेछ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने राखेपले जनाएको छ ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी छन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । प्रतियोगिता मंगलबार समापन हुने राखेपले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्