समाचार

एकै चोटी १८१ सिसिक्यामरा जडान

२१ माघ २०८०, आईतवार ०९:४६
एकै चोटी १८१ सिसिक्यामरा जडान

२१ माघ, काठमाडौँ। काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ। प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बुढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसिक्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्ष रूपमा निगरानी हुन लागेको हो।

‘सुरक्षित काठमाडौं उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसिक्यामरा जडान भई आज उद्घाटन गरिएको हो।

गत वैशाख १२ गते रु पाँच करोडमा सम्झौता भई सिसिक्यामरा जडान सुरु भएको थियो। जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले संयुक्त रूपमा सिसिक्यामराको उद्घाटन गरे।

प्रतिक्रिया दिनुहोस्