समाचार

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

२१ माघ २०८०, आईतवार ०९:२८
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

२१ माघ, काठमाडौँ। प्रहरी संगठनभित्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको राजीनामा चर्चामा छ । विमानस्थल सुरक्षा प्रमुखका रुपमा कार्यरत डीआईजी चन्दले शुक्रबार राजीनामा दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेका थिए । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ ।

चन्दले भने आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएका थिए । यता प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी गराएको छैन् । उनको राजीनामाले संगठनमा असर पर्ने सक्ने भन्दै सार्वजनिक नगरेको पाइएको छ ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । यही माघ १२ गते त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच कुटाकुट भएको थियो । घटनाको छानबिन गर्न सरकारले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति गठन गरेको थियो ।

त्यही विवादले उत्कर्षको रुप लिएपछि गृहमन्त्रालयले १२ माघमै मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति नै बनाएको थियो । तीन दिनको समय–सीमा दिएको उक्त छानबिन समितिमा गृहमन्त्रालयलकै उपसचिव कुलबहादुर जीसी र डीआईजी राजेशनाथ बास्तोला सदस्य थिए ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले काम गरिरहेकै बेला कर्मचारी संगठनका प्रतिनिधिहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न मन्त्रालय नै पुगे ।  उनीहरूको दबाब थियो– प्रहरीलाई कारबाही नगरे सबै काम रोक्ने ।

कर्मचारीको दबाब झेल्न नसकेका गृहमन्त्री श्रेष्ठले त्यही बेला घटनामा संलग्न प्रहरी कर्मचारीलाई कारबाही गर्ने आश्वासन कर्मचारीलाई दिएका थिए ।

कतिपयले सुन समितिले गरिरहेको छानबिनसँग जोडेर पनि व्याख्या गर्ने कोशिस गरे । चन्द स्वयंले भने शनिबार कुरा गर्दै व्यक्तिगत कारणले राजीनामा दिएको बताए । उनले आफूले राजीनामा दिइसकेको बताइसक्दा पनि प्रहरी प्रधान कार्यालय, नक्साल भने राजीनामाबारे बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्