समाचार

फेसबुकको एकै दिन २ खर्ब डलर बढेपछि कम्पनीको मूल्य १२ खर्ब नाघ्यो

२१ माघ २०८०, आईतवार ०९:२२
फेसबुकको एकै दिन २ खर्ब डलर बढेपछि कम्पनीको मूल्य १२ खर्ब नाघ्यो

२१ माघ, काठमाडौँ। फेसबुकको प्यारेन्ट कम्पनी मेटाको सेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले वृद्धि भएको छ । मेटाको सेयर मूल्य शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०.३ प्रतिशतले वृद्धि भएको हो।

यो शेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । मेटा विश्वकै सातौँ मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् ।

शुक्रबार कारोबारका क्रममा प्रतिशेयर ४८५ डलरसम्म पुगेको मेटाको शेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड-१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको शेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो ।

प्रविधि बजार विश्लेषकहरूले मेटाको लाभांश बाँड्ने कदमलाई परिपक्वताको संज्ञा दिएका छन् । आइतबार मात्रै फेसबुक स्थापनाको झन्डै २० वर्ष पुगेको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरूमा बढ्दो सफल प्रयोग, एक्स लगायत प्रतिस्पर्धी कम्पनीहरूको विज्ञापन बजारमा थपिँदो समस्यालगायतका कारण मेटाको सफलता बढेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्