खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ खेलाडीको प्रभाव

२० माघ २०८०, शनिबार १४:२२
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ खेलाडीको प्रभाव

२० माघ, काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लवलाई पाएको छ ।

 पुलिसले शनिबार कीर्तिपुरमा सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको हो । पुलिस तेस्रोपल्ट च्याम्पियन भयो । उपाधि जित्ने क्रममा पुलिसले आफ्नो अपराजित यात्रालाई प्रतियोगिताभर कायम राख्यो । पुलिसले लिगमा ९ र फाइनल गरी कुल १० खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगिताभर कुल ४६ खेल सम्पन्न भए । यसबीच यसपटक धेरै आशालाग्दा प्रदर्शन भए । हुन त सकारात्मक नतिजा आउँदा खेल मैदानको प्रभाव पनि रह्यो ।

यसपटक केन्द्रसँगै मोफसलमा गरी तीन स्थानमा खेल आयोजना भयो । भैरहवामा ११ खेल सञ्चालन भए । बाँकी खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरको त्रिवि मैदानमा खेल भयो । त्रिवि क्रिकेट मैदानमा ब्याटिङ फ्रेण्ड्ली देखिँदा धेरै रनसँगै शतक पनि बने । त्यो पनि लगातार शतक बनेको इतिहास पनि रह्यो । मूलपानी क्रिकेट मैदानमा भने बलरका लागि सहयोगी बन्यो । विशेषतः स्पिनरका लागि यो स्थान उत्तम बन्यो । त्यसैले पनि लगातार एउटै बलरले ४–५ विकेट आफ्नो नाममा लेखाए ।

यता, शतक त्रिवि क्रिकेट मैदानमा मात्र बन्यो । ९ ब्याटरले कुल १० शतक बनाए । ती सबै त्रिवि क्रिकेट मैदानमा मात्र सम्भव भएको हो । आर्मीका कप्तान विनोद भण्डारीको नाममा दुई शतक रह्यो । त्यसबाहेक पुलिसका रासिद खान, एपीएफका सन्दीप जोरा, आसिफ शेख, कोशीका सुजन थपलिया, सुदूरपश्चिमका नरेन भट्ट, बागमतीका आशुतोष घिरैया, मधेश प्रदेशका मायन यादव र अनिल साहले समान एक एक शतक बनाए ।

राष्ट्रिय टोलीका नियमित सदस्य आसिफ मात्र शतक बनाउन सफल भए । तर अन्य ब्याटर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल र भीम सार्कीको ब्याटबाट शतक निस्केन । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ब्याटर शतक बनाउन असफल रहे । यद्यपि, कर्णालीको प्रदर्शन भने यादगार बन्यो र पहिलोपटक विभागीय टोलीलाई हरायो ।

कर्णालीले विभागीय टोली एपीएफमाथि जित निकाल्दै शीर्ष चारको समीकरणमा नै उथलपुथल बनाइदियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको एपीएफ लिगमा शिर्ष चारभित्र नै अटाउन असफल रह्यो र इलिट ट्रफी खेल्न नै वञ्चित भयो ।

प्रतिक्रिया दिनुहोस्