समाचार

पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना

२० माघ २०८०, शनिबार ०४:२३
पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना

२० माघ, काठमाडौँ। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको कसुरमा पक्राउ परेका तीनमध्ये ६० वर्षीय अरुणकुमार चौधरी र ८० वर्षीय अजितनारायण सिंह थापा ग्रान्डी अस्पतालमा भर्ना भएका छन् ।

राजनीतिक दबावकै कारण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छिटो प्रतिवेदन बुझाउने तयारी गरेको छ । सीआईबीले व्यवसायी अरुण चौधरीसँगै बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण थापा र सिजी चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई बिहीबार पक्राउ गरेको थियो ।

माघ १८ मा पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पतालमा छन् । उनीहरूलाई शुक्रवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ल्याएर बयान गराइएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूले अरुण चौधरीसँग १० घण्टा बयान लिएका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘करिब १० घण्टा लगाएर अरुण चौधरी र अजित नारायण सिंह थापाको बयान सिद्ध्याएका छौँ ।’

त्यही कारण सीआईबीका अनुसन्धान अधिकृतहरुको टोलीले शुक्रबार नै व्यवसायी चौधरी र बाँसबारीका पूर्व प्रमुख थापाको बयान लिएका छन् । बिहीबार साँझ दुवैलाई महाराजगञ्जस्थित चिरायू अस्पताल लगिएको थियो, तर राति स्वास्थ्यमा समस्या भएको भन्दै ग्राण्डी पुर्‍याइएको थियो ।

प्रहरीसँग दिएको बयानमा व्यवसायी चौधरीले आफूहरुले कानूनसम्मत काम मात्र गरेको दाबी गरेका छन् । ‘विभिन्न निकायबाट निर्णय भएर हाम्रो कम्पनीको नामसम्म जग्गा आएको हो’, चौधरीले भनेका छन् ।

तत्कालीन प्रमुख थापाले पनि त्यतिबेला आफूले गरेको निर्णय गलत भएको भन्ने थाहा नभएको दाबी गरेका छन् । ‘त्यसरी अर्को कम्पनीको नाममा मेरो हैसियतले हस्तान्तरण गर्न मिल्थेन भन्ने भएको भए गर्ने थिइनँ, मलाई अरु कसैले पनि त्यतिबेला यो कुरा भनेनन्’, उनले भनेका छन्, ‘कारखाना लगातार घाटामा गएपछि यो निर्णय गरेका थियौं ।’

सीआईबीको अध्ययनले ५१ प्रतिशत सेयरवालाका रूपमा रहेको अरुणकुमार पक्षले ५१ प्रतिशत लगानी गर्नुपर्नेमा ८ लाख मात्रै लगानी गरेर १० रोपनी जग्गा हडपेको देखिएको छ । अनुसन्धान गरी अदालतले पुष्टि गरेपछि मात्र पक्राउ गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्नेगरी पक्राउ गरेको भन्दै बिहीबार नै नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले विरोध गरेको थियो ।

२०४३ सालमा बाँसबारी छालाजुत्ता कारखाना र चौधरी परिवारबीच लगानी प्रवद्र्धन सम्झौता भएपछि सरकारी जग्गा निजी स्वामित्वमा पु¥याउने खेल सुरु भएको सीआईबीको दाबी छ । यसका लागि १० भदौ २०४३ मा थापाले सञ्चालक समितिको बैठक बसालेर चौधरी परिवारसँग मिलेर च्याम्पियन फुटवेयर लिमिटेड नामक कम्पनी खडा गरेको सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश आचार्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

च्याम्पियन फुटवेयर लिमिटेड खोल्न बाँसबारी छालाजुत्ता कारखानाका थापा र चौधरी परिवारका लुनकरणदास चौधरीबीच प्रवद्र्धन सम्झौता भएको समेत सीआईबीको अनुसन्धानबाट खुलेको बताइएको छ । ५१ प्रतिशत सेयर चौधरी परिवारको, २५ प्रतिशत बाँसबारी छालाजुत्ताको र बाँकी २४ प्रतिशत सर्वसाधारणको रहने सम्झौता भएको कागजातबाट देखिएको सीआईबीले जनाएको छ ।

२७ कात्तिक २०४३ मा च्याम्पियन फुटवेयर लिमिटेड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । ५ भदौ २०४४ मा बाँसबारी काराखानाको जग्गाको मूल्यांकन प्रतिरोपनी २ लाख ५० हजार गरेर १५ लाख रुपैयाँबराबरको ६ रोपनी जग्गा च्याम्पियनलाई हक हस्तान्तरण गरेको पनि आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्