समाचार

त्रिभुवन विमानस्थलमा कुटपिट प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

१७ माघ २०८०, बुधबार १५:१७
त्रिभुवन विमानस्थलमा कुटपिट प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

१७ माघ,काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । समितिको तर्फबाट छानबिन रिपोर्ट पेस भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । उनले भने,‘रिपोर्ट अध्ययनको क्रममा छौँ ।’

समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो। छानबिन थालेको पाँचौँ दिनमा समितिले छानबिन प्रतिवेदन बुझाएको हो।

माघ १२ मा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उप–सचिव कुल बहादुर जी.सी. सदस्य छन् ।

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर काममा छन्।  उता उक्त घटनामा संलग्न प्रहरीहरूलाई भने अध्यागमनको उक्त चेकजाँच प्वाइन्टबाट अन्यत्र सारिएको छ। आइतबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीसँगको झडपमा देखिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको बताएका थिए।

आइतबार मात्रै विभिन्न दल निकट पाँच कर्मचारी संगठनका नेताहरू प्रहरीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई दबाब दिन पुगेका थिए। तर गृहमन्त्री श्रेष्ठले छानबिन समितिको प्रतिवेदन आएपछि आवश्यक कारबाही अघि बढाउने तर अहिले नै निलम्बन गर्न नसकिने जवाफ दिएका थिए।

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले चेकजाँच गर्दा कुटाकुट भएको थियो।

प्रतिक्रिया दिनुहोस्