समाचार

एनसेलको सेयर खरिद–बिक्रीको छानबिन सकियो, प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी

१५ माघ २०८०, सोमबार १४:१६
एनसेलको सेयर खरिद–बिक्रीको छानबिन सकियो, प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी

१५ माघ, काठमाडौँ। एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज प्रतिवेदन बुझाएको छ।

करिब डेढ महिनाभन्दा अनुसन्धानपछि तयार भएको प्रतिवेदन समितिका संयोजक टङ्कमणि शर्माले सोमवार साँझ प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।​

मलेसियन कम्पनी आजियाटाले सरकारलाई जानकारी नदिई एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको आरोपपछि सरकारले छानबिन समिति बनाएको थियो ।

सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीमा चलखेल गरिएको भन्दै सरकारले समिति बनाएको थियो।

त्यस्तै उच्च अदालत पाटनले  एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता दिएको छ।

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री कारोबार विवादित बनेको थियो।

सरकारले गठन गरेको छानबिन समितिमा शर्मा सहित सदस्यमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रलयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्।

प्रतिक्रिया दिनुहोस्