समाचार

रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी

१५ माघ २०८०, सोमबार ०८:१७
रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी

१५ माघ, रामेछाप। रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसमा स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम माघ १४ गतेदेखि दुई महिनाका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ निरौलाले  जारी गरेको सूचनामा उल्लेख छ।

निषेधाज्ञामा मन्थलीबजारमा रहेकाे राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषिविकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ ।

प्रशासनले हचुवाको भरमा निषेधाज्ञा जारी गरेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । प्रशासनले निकालेको निषेधाज्ञाको सूचनामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम ,झैझगडा, मुठभेड एवं भिडन्त भइ शान्ति सुरक्षा भङ्ग गर्न नपाइने उल्लेख छ ।

तर, सदरमुकाम मन्थलीमा पछिल्लो समय कुनै पनि विरोधका कार्यक्रमहरू भएका छैनन्।  प्रजिअले निकालेको निषेधाज्ञापछि नेकपा एमालेका नेता रमेश बस्नेतले जिल्ला प्रशासनले लोकतन्त्रको उपहास गरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध गरेका छन्।

चार दिनअघि जिल्ला प्रशासन कार्यालयको गेटमा पाँच दिनसम्म अनशन बसेर हिँडेकी रामेछाप नगरपालिका– १ की बिनु यादवले पुनः अनशन बस्न सक्ने अनुमानको भरमा प्रजिअ निरौलाले निषेधाज्ञा जारी गरेको हुन सक्ने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले बताए।

प्रतिक्रिया दिनुहोस्