समाचार

गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है- रवि लामिछाने

११ माघ २०८०, बिहीबार ०६:४७
गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है- रवि लामिछाने

११ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन् ।

संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिबद्धता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुने उनको दाबी छ।

‘मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन। आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ,तलबी सेना अफ बिटमा ननचाऔँ। फेस गरौँ, फेस नलुकाऔँ’, सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्।

आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैं गर्न, फेस गर्न र फेस नलुकाउन समेत उनले भनेका छन् । उनले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे देश बन्नेसमेत बताएका छन् ।

नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि इन्ट्रेस्टिङ बन्ने उनको भनाइ छ । हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै देश बन्ने उनको भनाइ छ ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको पैसा लिएर सेयर पाएको र छाड्दा १ करोड ८० लाख खातामा लिएको आजै मात्र कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो ।

लामिछाने निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्क सहकारीको पैसा लगानी भएको भन्दै उनीमाथि आरोप लाग्दै आएको छ । अहिले गोर्खा मिडिया नेटवर्क अध्यक्ष जिबि राई फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्