समाचार

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

११ माघ २०८०, बिहीबार ०६:३८
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

११ माघ, काठमाडौं। हिमाली जिल्ला मनाङमा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए । उनले भने, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।”

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चिसोमा सेवाग्रही कम आउने भएकाले सेवा लिन आएका सेवाग्राहीलाई विद्युत्को प्रयोग गरी हिटर तापेर सेवा दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्