समाचार

कांग्रेस महामन्त्री थापा मेची–महाकाली संवाद यात्रामा

१० माघ २०८०, बुधबार ०५:४७
कांग्रेस महामन्त्री थापा मेची–महाकाली संवाद यात्रामा

१० माघ, काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही शनिबारदेखि संवाद यात्रा सुरु गर्ने भएका छन् । मेची-महकाली संवाद यात्रामा निस्किन लागेका थापाले यो अभियान २६ माघसम्म सञ्चालन हुने जानकारी दिएका छन् ।

थापाका अनुसार भद्रपुर नगरपालिका– ५ मेचीपुल भन्सारबाट संवाद यात्रा सुरु हुनेछ । अभियान कांग्रेस र देशको अवस्थाबारे जनस्तरका गुनासा, समस्या र सुझाव लिन केन्द्रित रहने उनको भनाइ छ । २१ जिल्लामा सञ्चालन हुने अभियान २६ माघसम्म हुनेछ ।

१३ माघमा झापाको भद्रपुर- ५ मेचीपुल भन्सारबाट आफू संवाद यात्रामा सहभागी हुने थापाले जानकारी दिएका छन् । संवाद यात्राका क्रममा थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम छ ।

कांग्रेसको आन्तरिक राजनीतिमा युवा पुस्ताबाट लोकप्रिय मतसहित पार्टीको नेतृत्वमा उदाएका महामन्त्री थापा गएको संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग प्रत्याशी बनेका थिए ।

निकटस्थ नेताहरूका अनुसार थापा अब पार्टीको सभापति बन्ने तयारीमा छन् । यो यात्रालाई त्यस कारण पनि महत्वका साथ हेरिएको छ । महामन्त्री थापाले समुदायमा कांग्रेस अभियानका क्रममा हुने कार्यक्रमहरूमा सहभागी भएर जनताका कुरा सुन्ने बताएका छन् । यात्राका क्रममा औपचारिक कार्यक्रमहरू नगर्ने उनको घोषणा छ । एक जिल्लामा कम्तीमा ५ वटा कार्यक्रममा सहभागी हुने र सकेसम्म धेरै सर्वसाधारणका कुरा सुन्ने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्