गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन् भने त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मङ््सिरको पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताए । यहाँका बासिन्दा जाडो छल्न धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन् ।
स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने माथिल्लो क्षेत्रका धेरैजसो होटल व्यवसायीले घरमा ताल्चा नै लगाएर अन्यत्र जाने गरेका छन् ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधँै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय उमा बराइलीले बताए । भौगोलिक विकटता एवं उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्यामा पिरोलिएर बाँच्नुपरेको छ । झनै जाडो महिनामा त यस भेगमा बस्न निकै कठिन रहेको स्थानीयवासी बताउँछन् ।
यहाँ मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा मानिस बसोबास गर्ने गर्छन् । यतिखेर नाम्चे क्षेत्रमै तापक्रम घटेर माइनस १२ डिग्रीसम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मण्डलले बताए ।
- निकुञ्जका कर्मचारीलाई फुर्सद !
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । पर्यकीय याममा एकैपटक धेरै पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गर्दा ‘इन्ट्री’ गराउन भ्याइनभ्याई हुने कर्मचारीलाई यतिखेर भने फुर्सद मिलेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताए । उनका अनुसार मुख्य याममा दैनिक नौ सयजनासम्म स्वदेशी तथा विदेशी भ्रमणकर्ता निकुञ्ज प्रवेश गर्दा बिहान उज्यालो भएदेखि राति अबेरसम्म इन्ट्री गराउनमा व्यस्त हुने जाँचचौकीका कर्मचारीलाई अहिले फुर्सद मिलेको छ । अहिले दैनिक मुस्किलले पाँच–सात जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ ।
याममा धेरै पर्यटक आउने भएकाले जाँचचौकीका कर्मचारीको खानेबस्ने ठेगान नै नहुने गर्छ भने अहिले कार्यालयको नियमित कामसँगै चिसोमा घाम तापेर समय बिताउने गरेको उनले बताए । सगरमाथा राष्ट्रिय निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुईवटा रेञ्जपोष्ट रहेको कार्यालयले जनाएको छ ।
विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा रहेका छन् । निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदासूचीमा समावेश गरिएको हो । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।
चिसोका कारण धेरैजसो खुम्बुबासीले सगरमाथा क्षेत्र छाडिसक्दा यहाँ कार्यरत कर्मचारी भने कार्यक्षेत्रमै रहेका छन् । स्थानीयवासी तथा पर्यटन व्यवसायी चिसो छल्न अन्यत्र जाने गरे पनि कर्मचारी भने त्यहीँ बस्न बाध्य छन् । नाम्चे क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी, प्रहरीलगायतका व्यक्ति छन् । उनीहरू पनि धेरै समय आगो तापेरै बिताउने गरेको इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख शाखा अधिकृत बर्देवाको भनाइ छ ।
चिसोले पाइपमै पानी जम्दा तातो पानी तताएर पाइपमा खन्याएपछि मात्रै धारामा पानी आउने गरेको कर्मचारी बताउँछन् । चिसोले तेलसमेत जम्दा दैनिकी कठिन हुने गरेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताए । बिहानको समयमा अधिक चिसो हुने भएकाले घाम नलागेसम्म ओछ्यानबाट ननिस्कने गरेको उनको भनाइ छ ।